स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति दिने श्रम मन्त्रालयको निर्णय

  Sampatti News Online

June 8, 2023

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी श्रावण १ गतेदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । सेवा प्रवाह नागरिक मैत्री र प्रविधि मैत्री हुँदै गएको सन्दर्भमा इजाजत पत्र संस्थालाई पूर्ण जिम्मेवार बनाउने र विभाग र कार्यालयबाट निरन्तर अनुगमन हुने प्रवन्ध गरिएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ मा भएको वैदेशिक रोजगारमा जाने हरेक कामदारले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएकोमा वैदेशिक रोजगार विभागको Foreign Employment Information Management System (FEIMS) मार्फत कामदारहरुले अनलाईन आवेदन गरी श्रम स्वीकृति लिने व्यवस्था छ । हाल FEIMS लाई समायानुकुल परिमार्जन गरी पूर्व र अन्तिम श्रम स्वीकृति सम्बन्धी कार्य स्वचालित प्रणालीबाटै गरी समयमा नै श्रम स्वीकृति प्रदान गर्ने, कार्यालयमा कार्यरत अधिकृत तहका कर्मचारीहरुलाई FEIMS को विवरण अनुगमनमा केन्द्रीत गर्ने निर्णय मन्त्रालयले गरेको हो । आगामी दिनमा सम्बन्धित वैदेशिक रोजगारीमा पठाउने कम्पनीले नै आफ्नै कम्पनीमा बसेर सूचना प्रविष्ट गर्न सक्ने र स्वतस् श्रम स्वीकृति प्राप्त हुने भएको छ । तर, वैदेशिक रोजगार व्यवसायीले गलत काजगात पेश गरी प्रविष्ट गरेमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली २०६४ बमोजिम कम्पनी खारेजीसम्मको सजायँ हुने गरी निर्णय गरिएको हो ।
वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायहरुबाट प्रवाह हुने सेवालाई सेवाग्राही मैत्री एवं आधुनिक सूचना प्रविधिमा आधारिक बनाउँदै प्रभावकारी सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७८ कार्यान्वयनमा रहेको छ । यस निर्णय अनुसार श्रम स्वीकृति प्रदान गर्नका लागि तय गरिएको दुई तहको व्यवस्थालाई खारेज गरी अधिकृतमुखी बनाइएको छ । श्रम स्वीकृतिको प्रक्रियालाई एक तहमा सीमित गर्दा सरल, सहज हुनुका साथै पारदर्शी एवं सेवाग्राही मैत्री हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति:June 8, 2023