नेपाल रिपब्लिकको आईपीओ बिक्री खुला

  Sampatti News Online

June 9, 2023

काठमाडौं । सर्वसाधारणमा शेयर जारी गर्ने पहिलो मिडिया कम्पनी बनेको नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण लगानीकर्ताका लागि आज जेठ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

सोमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने वैदेशिक रोजागरीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन गरेको थियो।

कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ८ गतेसम्म लम्बिनेछ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति:June 9, 2023