उद्योग वाणिज्य संघका महासचिव भण्डारी सम्पर्कविहीन

  Sampatti News Online

June 10, 2023

टीकापुर । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । मंगलबार कैलालीको चिसापानीस्थित एक होटलमा गाडी र मोबाइल छोडेका भण्डारी त्यसपछि सम्पर्कविहीन बनेका हुन् ।

महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भण्डारी मंगलबार धनगढीबाट चिसापानी पुगेका थिए । सुर्खेतको विरेन्द्रनगरमा रहेको न्यू बुलबुले अटो सेल्सका सञ्चालक भण्डारीले प्रयोग गर्ने बा.१८च. ९८७५ नम्बरको गाडी इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ । बिहीबार गाडी बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको बताइएको छ ।

पाँच दिनदेखि बेपत्ता संघका महासचिव भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भण्डारीको परिवारसमेत सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । प्रहरीले हुलिया सार्वजनिक गरेर भण्डारीको खोजी गरिरहेको छ । संघका महासचिव भण्डारी सम्पर्कविहीन हुनुको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति:June 10, 2023