संसद्‌मा प्रधानमन्त्रीको राजीनामा माग  

  Sampatti News Online

June 11, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरिएको छ । राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । आइतबार जारी बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।

“प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ । ३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्डको हैसियतमा ? युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेको हो । त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । उक्त पदमा बसिरहनु उचित हुँदैन,” उनले भनेका छन् ।

यसअघि सर्वोच्च प्रशासनले उक्त रिटलाई दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । रिटमा आफूहरूलाई युद्धमा प्रयोग गरिएको र पछि अयोग्य भनि बर्हिगमन गराएको तर सरकारबाट तथा दलबाट कुनै पुन:स्थापना वा राहत नपाएको दाबी रिटमा गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पूर्वबाल सेना नेपालका तर्फबाट लेलिन विष्टसहितले दर्ता गराएको रिटको पहिलो पेसी जेठ ३० गते तोकिएको छ ।

प्रकाशित मिति:June 11, 2023