घुस लिएको भन्दै मालपोतका खरिदारबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

June 12, 2023

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

साहले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस कुशवाहालाई लिन लगाई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले सोमबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कलैया, बाराका खरिदार रामविश्वास साहले १५ हजार घुस मागगरी प्रतिवादी गौरीशंकर कुमार कुशवाहलाई लिन लगाएको खुलेको छ ।

अख्तियारले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति:June 12, 2023