अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधनका लागि पूर्वाधार आवश्यक : अध्यक्ष ढकाल

Nepal Cover
३१ जेष्ठ २०८०, बुधबार
image

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

मङ्गलबार भारतको कलकत्तामा ‘बिमस्टेक बिजनेस कन्क्लेभ’ अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधार निर्माणको आवश्यकता रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, पूर्वाधार सञ्जाल सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेक सदस्य देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको पनि उनले बताए।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाहजस्ता भौतिक पूर्वाधारको बृद्धि गर्न आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य शृङ्खलाको विकासमा सहयोगका लागि पूर्वाधारको विकास र स्तरोन्नतिका लागि संयुक्त प्रयास गर्न सकिने बताए।