शेयर बजारमा झिनो अंकको वृद्धि

  Sampatti News Online

June 15, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ५ अंकले बढेर दुई हजार ४२ दशमलब ०७ विन्दुमा बन्द भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा भने बढेर बन्द भएको हो।

निरन्तर सात कारोबार दिन नेप्से बढेपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गरेपछि नेप्सेमा इन्ट्रा डे करेक्सन भएको हो।

आज तीन अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ७५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटाको शेयरमूलय स्थिर रहेको छ ।  

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटी होटल लिमिटेडको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ५.८६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १७ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक २.९२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३६ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ।

प्रकाशित मिति:June 15, 2023