पाँच दलीय समाजवादी मोर्चा घोषणा हुँदै

  Sampatti News Online

June 15, 2023

काठमाडौं । भोलि पाँच दलीय समाजवादी मोर्चा घोषणा हुने भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भएको हो ।
नेकपा एसका नेता गंगालाल तुलाधारले शुक्रवार (भोलि) नै मोर्चाको घोषणा गर्ने तयारी भएको जानकारी दिए । ‘हामी सरकारमा पनि सहभागी छौं । सम्भवतः शुक्रवार नै मोर्चा गठन गरेर जानेसम्मको तयारी छ ।’

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पनि समान मत भएका दलबीच तत्काल संयुक्त सहकार्य गर्ने तयारी भएको जानकारी दिए । ‘समाजवादी मोर्चाको लागि संयुक्त डकुमेन्ट बनिरहेको छ । यसको अन्तिम तयारी पनि भएको छ’ पोखरेलले भने, ‘माओवादीको केन्द्रीय कमिटीको बैठकपछि मोर्चा घोषणा गर्ने कि अगाडि नै गर्ने भन्नेमा प्रष्ट भइसकेको छैन । आवश्यक तयारी हुँदा छिट्टै घोषणा हुन पनि सक्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारमात्रै दाङ पुगेर मोर्चा घोषणा गर्ने तयारी भइरहेको बताएका थिए ।

समान एजेण्डा भएका दलबीच तत्काल पार्टी एकता सम्भव नहुँदा मोर्चा बनाएर सहकार्य गर्ने विकल्प भएको पोखरेल बताउँछन् । यो मोर्चामा तत्काल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने तत्काल सहभागी नहुने भएको छ । नेता पोखरेलले भट्टराई र उपेन्द्र यादवको टसलले थप एक दल तत्काल मोर्चामा जोडिने सम्भावना कम रहेको बताए । यद्यपि भट्टराईलाई पनि समेट्ने प्रयास भइरहेको उनको भनाइ छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि ६ महिनादेखिको प्रयासले मूर्तरुप लिन लागेको जानकारी दिए । ‘कुराकानी भइरहेको छ । समाजवादी शक्ति, परिवर्तनकारी शक्तिलाई एउटै समाजवादी मोर्चामा आवद्ध गर्ने कुरा ६ महिनादेखि भइरहेको छ’ यादवले भने, ‘तर घोषणा गर्ने तयारी भए पनि आजै मितिको टुंगो लागिसकेको छैन ।’

३२ सिटको माओवादी, १२ सिटको जसपा, १० सिटको नेकपा एस र विप्लवको पार्टी एक ठाउँमा उभिए संसदमा यी दलको ५४ सिट पुग्नेछ । तत्काल कम्युनिस्टबीच एकता सम्भव नभएपछि मोर्चा बनाएर भए पनि बलियो हुने र एकतासम्म पुग्ने नीति दलहरूले लिएका हुन् । मोर्चा बन्दाको सत्ता गठबन्धनमा कांग्रेसलाईसमेत दबाब बढाउन सकिने विश्वास माओवादी, जसपा र नेकपा एसको रहेको बताइन्छ ।

प्रकाशित मिति:June 15, 2023