वामदेव गौतम एमालेमा सक्रिय हुन तयार

Nepal Cover
३ असार २०८०, आईतवार
image

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि वामदेव गौतम उत्साहित भएका छन् ।

एमालेले ७० वर्षे उमेर हदको प्रावधान हटाएपछि नेता गौतम पार्टी अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगेका थिए । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमको एमालेमा फर्किने बाटो खुला भएको थियो । भेटमा ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।

आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए ।

‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ ओलीसँग भेटेपछि गौतमले भने, ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ । म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ।’

एमालेमा ७० वर्षे उमेरहद फुकाउने निर्णय वामदेवकै व्यवस्थानका लागि भनेर पार्टी नेताहरुले भनिसकेका छन् । एमाले कार्यालय स्रोतका अनुसार गौतम ओलीसँग भेटेपछि उत्साहित छन् ।