नेप्सेमा सामान्य अंककाे गिरावट

  Sampatti News Online

June 19, 2023

काठमाडौं । विगत ९ दिनदेखि लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ। विगत ९ दिनमा लगातार १९१ अंकले बढेपछि बजार सोमबार करिब ३ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज सोमबार २.९४ अंकले घटेर दुई हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ५२.२६ अंकले बढेर दुई हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको थियो । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज चार अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ८० कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक वटाको शेयरमूल्य स्थिर रहेको छ ।  

यसअघि होटल र इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताको बढी आकर्षण रहेकोमा अहिले ती सेक्टरले केहि विश्राम लिन खोजेको देखिन्छ। सोमबार होटल र इन्सयोरेन्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

आज नौं कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, माउन्टेन इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्था, मेन्छियम हाइड्रोपावर, सिटी होटल लिमिटेड, मकर जीतुमाया सुरी हाइड्रोपावर, सानिा इक्विटी फण्ड र लुम्बिनी विकास बैंकको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।   

आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २९ करोड ८२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 19, 2023