चार दलले घोषणा गरे समाजवादी मोर्चा

  Sampatti News Online

June 19, 2023

 काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् । सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।

मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ ।

प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति:June 19, 2023