नक्कली शरणार्थी प्रकरण : अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले पनि थाले अनुसन्धान

  Sampatti News Online

June 20, 2023

नक्कली शरणार्थी प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेका छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका लक्ष्मी महर्जन र टंक गुरुङसँग दुवै निकायले बयान लिएका छन् ।

असार १ गते जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले महर्जनलाई ५ लाख तथा गुरुङलाई १० लाख रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

सोही साँझ पौने ८ बजे दुवैजनाले धरौटी बुझाए तर रिहा भने भएनन् । अदालत परिसरबाटै दुवै जनालाई अन्य मुद्दाको पनि अनुसन्धान गर्न बाँकी रहेको भन्दै गिरफ्तार गरिएको थियो ।

‘अभियोगपत्रमा नै मुद्दाको थप अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गर्ने भनेर लेखिएका कारण ती दुवै निकायमा उपस्थित गराउनका लागि गिरफ्तार गरेका हौं भन्ने जानकारी गराएर प्रहरी परिसर टेकु नै लगियो,’ थियो ।

भोलिपल्ट शनिवार सार्वजनिक बिदाको दिन भएकाले उनीहरू दुवै जनालाई टेकु परिसरको प्रहरी हिरासतमै राखियो । आइतवार असार ३ गते प्रहरीले दुवै जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रहरीले ११ बजेतिर उपस्थित गराएको थियो ।  विभागले ११ बजेदेखि साढे ३ बजेसम्म दुवै जनासँग बयान लिएको थियो ।

त्यसपछि विभागले लक्ष्मी महर्जनलाई ५० हजार रुपैयाँ र टंक गुरुङलाई १ लाख ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा धरौटी बुझाएपछि पनि उनीहरू रिहा भएनन् । प्रहरीले पुनः उनीहरूलाई नियन्त्रणमा लिएर अख्तियारमा उपस्थित गराएको थियो ।

अख्तियारले भने झन्डै डेढ घण्टा जति बयान लिएर दुवै जनालाई रिहा गरेको थियो । त्यसपछि उनीहरू दुवै जना आ-आफ्नो घर फर्किएका थिए ।

प्रकाशित मिति:June 20, 2023