चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना

  Sampatti News Online

June 21, 2023

काठमाडौं । विशेष अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ । अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव समेत रहेका शर्मा, पूर्वअध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई ९ वर्ष कैद सजाय सुनाएको हो ।
मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो।

यस्तै इजलासले उनीहरूलाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको हो। उनीहरूलाई उक्त इजलासले गत जेठ १८ गते दोषी ठहर गरिसकेको छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका दुई मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो।

अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो।

९ वर्षअघि गठित आयोगले कर विवाद फर्छ्यौट गर्ने जिम्मेवारी पाएको थियो। अख्तियारको सुरूको मुद्दा २० अर्ब ९८ करोड रुपैयाँ कर छुट दिने निर्णयबारे थियो। सो मध्ये १० अर्ब दुई करोड रुपैयाँ नियम बमोजिम कर छुट दिएको निष्कर्ष अख्तियारले निकालेको थियो।
बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ थियो। अख्तियारले दुई वर्षअघि पनि उनीहरूविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने अर्को मुद्दा चलाएको थियो। उक्त मुद्दामा पनि कसुर कायम हुने ठहर विशेष अदालतले गरेको छ।

प्रकाशित मिति:June 21, 2023