June 21, 2023
काठमाडौँ । तराईका विभिन्न जिल्लाबाट आएकापीडित लेनदेन संघर्ष समितिहरुले आज पनि माइतीघरमा धर्नामा बसेका छन् ।
उनीहरूले लेनदेन कारोबार सहज गर, सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर जस्ता नारा लेखिएको पम्पप्लेट बोकेर प्रदर्शन गरिरहेका छन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते जारी सो अध्यादेशका प्रावधान पूर्वाग्रही, असमान र अनुचित भएकोले आफूहरु मर्कामा परेको संघर्ष समितिले जनाएको छ ।
नियम कानून सबैको लागि समान हुनुपर्छ आफूहरुको कुनै राय सुझाव नलिई एकपक्षीय ढंगले अध्यादेश जारी गरिएका छन् ।
परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको भन्दै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश खारेजीको माग गरे । त्यसमा केही सीमित व्यक्तिले आफ्नो दुनो सोझो गर्न खोजेको उनीहरूको आरोपसमेत छ ।
आफूहरूलाई डर देखाउँदै मिटरव्याजी भनी निवेदन दिने, धाकधम्की दिने काम भएको भन्दै आतङ्क नरोकिए चरणबद्ध आन्दोलनमा जानेसमेत सुदखोरहरूको चेतावनी छ ।
उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा मात्र उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र व्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका छन् ।
प्रकाशित मिति:June 21, 2023
November 24, 2024