बेलायतमा नेपाली कामदार पठाउने बाटो खुल्यो

  Sampatti News Online

June 21, 2023

काठमाडौं । बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो ।

म तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकार गरेसँगै अब नेपाली कामदार बेलायत जानेछन् । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार) सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता गरेको थियो ।

श्रम सम्झौता अनुसार अब नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने छ । पहिलो चरणमा कम्तीमा एक हजार नर्स जानेछन् ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त छन् । साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।

सेवा सुविधा

श्रम मन्त्रालयका अनुसार बेलायती नागरिकले पाउने सेवा-सुविधा र विदेशी नागरिकले पाउने सेवा-सुविधा एकै खालको छ । आईएलटीएस जस्ता भाषा सिक्न र बेलायत जान लाग्ने प्लेन टिकटसमेत बेलायत सरकारले बेहोर्ने छ ।

यहाँबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउण्ड स्ट्रर्लिङसम्म कमाउन सक्नेछन् । अहिलेको सतहीदरअनुसार वार्षिक रुपमा ६० लाख १२ हजार रुपैयाँ हुनेछ ।

प्रकाशित मिति:June 21, 2023