काठमाडौँ। घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरुको पहिचान भएको छ। नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०–१० लाख कित्ताका लागि आवेदन दिने १२ जनाको पहिचान गरेको हो।
खातामा पैसा नभई आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर-१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका-३ की श्रीजा पोखरेल छन् ।
त्यस्तै, गोरखाको सिरानचोक-३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी-१ की मुना खत्री र चितवनको भण्डारा-१ का मनोज पाठक छन् ।
सुनसरीको देवानगन्ज-१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु-३ का नवीन खत्री, ललितपुरको टिकाथली-५ का अनिल राना, पर्वतको कार्कीनेटा-३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम छन् ।
यी १२ जनाले खातमा रकम नभएकै अवस्थामा पनि एकजनाले दिन पाउने अधिकतम १० लाख कित्ताका दरले १ करोड २० लाख कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए ।
धितोपत्र बोर्डले यसरी आफ्नो बैंक खातामा पर्याप्त रकम नभई आवेदन हाल्ने व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ ।