२ करोड ३३ लाख मूल्यको लागुऔषध बरामद, ५ विदेशीसहित १२ जना पक्राउ

  Sampatti News Online

June 23, 2023

काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले अवैध लागुऔषध कारोवार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो ।

 व्युरोले गत जेष्ठ २८ गते काठमाडौंको सिनामंगलमा भारत घर भएका हेमन्त कुमार भगतलाई खैरो हिरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरि पेस्तोल खोस्ने प्रयास गरेकाले जवाफ कारवाही गर्दा बायाँ खुट्टामा गोली लागी उपचार भइरहेको र उनीसँग सोधपुछ गर्दा भारत घर भइ धरान बस्ने राम भजन भन्ने शंजिव कुमारको समेत संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै करिब ७ किलो लागुऔषध चरेशसहित एकजना जर्मन नागरिकलाई इस्तानबुल जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । उनले विशेष अपरेशनका क्रममा १० हजार १ सय ३० पिस एलएसडी स्टीकरसहित ५ लाई पक्राउ गरिएको बताए।

ठमेल सातघुम्तीबाट काठमाडौं चन्द्रागिरी घर भएका सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरिएको जोशीले जानकारी दिए । उनले कागजमा टास्ने स्टीकरको स्वरुपमा एलएसडी बरामद गरिएको पनि बताए।

त्यस्तै अनुसन्धानका क्रममा अवैध लागुऔषधसहित विभिन्न तीनजनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ । पक्राउ परेकाहरुबाट बरामद अवैध लागुऔषधको अवैध बजार मूल्य २ करोड ३३ लाख भन्दा बढि रहेको पनि व्युरोले जानकारी दिएको छ । 

प्रकाशित मिति:June 23, 2023