यातायात व्यवस्था कार्यालयका प्रमुखसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

June 23, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षामा अनुत्तीर्ण ४६३ जनालाई परीक्षाको परिणाम हेरफेर गरी उत्तीर्ण गराउने यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालिन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा फेल भएका विद्यार्थीलाई उत्तीर्ण गरी अख्तियार दुरुपयोग गरेको अभियोगमा शाहीसहित सहायक कम्प्युटर अप्रेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।

कार्यालयका तत्कालिन प्रमुख शाहीले आर्थिक वर्ष २०७८ ०७९ मा लाइसेन्सको लिखित परीक्षामा फेल एक सय ८० जना विद्यार्थी उत्तीर्ण गराएर प्रयोगात्मक परीक्षामा सहभागी गराएको अख्तियारको दावी छ । त्यस्तै, आरोपपत्रमा ट्रायलमा फेल भएका २२३ र सहभागी नै नभएका ३९ जना गरी ४६३ जनाको परिणाम फेरबदल गराएको उल्लेख छ ।

अख्तियारका अनुसार शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी विभिन्न वर्गका सवारी चालक अनुमति पत्रको लागि लिइएका लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका १८० जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट गरेको र त्यस क्रममा प्रविष्ट गरेका उक्त १८० जना परीक्षार्थीहरू मध्ये १३ जनाको उत्तर पुस्तिकाहरूमा परीक्षकले लेखेको नतिजा/प्राप्ताङ्कलाई रि-राइट, ओभ-राइटसमेत गरी सच्याएको, प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा/प्राप्तंकमा रि-राइट, ओभर-इटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गर्ने काम गरेको र उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैले स्वीकृत गरेको पाइएको छ ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी यातायात व्यवस्था कार्यालय, धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर(करार) नरेन्द्रकुमार कठरिया  र कम्प्युटर अपरेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी  प्रयोग गरी ए, बी र के का सवारी चालक अनुमति पत्रको लागि लिइएको लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहररुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट गरेको भेटिएको छ । साथै ए, बी सी/सी१, इ, एफ, जी र के का सवारी चालक अनुमति पत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण/अनुपस्थित भएका २८३ जनाको परीक्षाको परिणाम फेरबदल गरी प्रतिवादी लक्ष्मण शाहीले नतिजा प्रविष्ट गरेकोमा परीक्षामा उपस्थित नै नभएका २५ जना र अनुत्तीर्ण भएका १३९  जना गरी १६४ जना परीक्षार्थीहरूको प्रविष्ट नतिजालाई कठरियाले आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरेको भेटिएको कार्यालय प्रमुख कुरुम्वाङले जनाएका छन् । 

पवनकुमार रावलले वर्ग ए का सवारी चालक अनुमति पत्रको लागि लिइएको लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई आफ्नो आधिकारिक युजर आइडीबाट लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट  गरेको तथा लक्ष्मण शाहीले उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गरेका २८३ जनामध्ये वर्ग ए, बी, सी/सी१, इ, जी, जे१/जे२ र के का सवारी चालक अनुमति पत्रको लागि लिइएको प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ६ जना र परीक्षामा अनुत्तीर्ण भएका ६२ जना गरी जम्मा ६८ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी शाहीले प्रविष्ट गरेको नतिजालाई रावलले आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरी कठरिया र रावलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको कार्यालय प्रमुख कुरुम्वाङले जनाए । 

प्रकाशित मिति:June 23, 2023