जसपाको केन्द्रीय समिति बैठक बस्दै

  Sampatti News Online

June 24, 2023

काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीको लागि केन्द्रीय समिति बैठक बस्दैछ ।

बैठकमा यही असार १० गतेदेखि १२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । ‘आगामी विधान अधिवेशनको तयारीको सन्दर्भमा बैठक बस्न लागेको हो ।

बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । उक्त अधिवेशनमा संघीय परिषद् खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

भोलिको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटीलगायतबाट देशभरी तथा प्रवाससमेत करिव ८ सय प्रतिनिधिहरू सहभागी हुदैँछन् ।

यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधान माथि छलफल हुनेछ र पारित गर्ने प्रमुख एजेण्डा रहेको छ ।

प्रकाशित मिति:June 24, 2023