बाढीले ३० जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति

  Sampatti News Online

June 25, 2023

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले जनाएको छ।

यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत आयोजनामा क्षति पुगेका छन् । आयोजनाका हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउस लगायतका भौतिक संरचना क्षति भएको छ ।

बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १३ वटा आयोजनामा करिब ६ अर्ब रुपियाँ बराबरको क्षति भएको छ भने निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब रुपियाँको क्षति भएको इपानको तथ्यांक छ ।

जसमध्ये उत्पादन गरिरहेका २५ मेगावाटको काबेली बी–१ मा ५० करोड, २२.१ मेगावाटको तल्लो हेवा खोलामा १ अर्ब, ४ दशमलव ७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोड रुपियाँको क्षति भएको छ । ३ मेगावाटको पिलुवाखोलामा ५ करोड , ४ मेगावाटको सवा खोलामा २ करोड, १० मेगावाटको काबेली बि–१ क्यासकेड ७० करोड, १४ दशमलव ९० मेगावाटको मायाखोलामा ५ करोड, १० दशमलव ३० मेगावाटको डाउन पिलुवाखोलामा १० करोड क्षति भएको छ ।

त्यस्तै १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत आयोजनामा ९५ करोड रुपियाँको क्षति भएको छ भने निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपियाँ बराबरको क्षति भएको छ ।

उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्र शव भेटिएको छ ।

त्यस्तै ७ दशमलव ५ मेगावाटको इसुवाखोला जलविद्युत् आयोजनामा ५० करोड, ९ दशमलव ७ मेगावाटको इङ्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको छ । बाढीले १५ दशमलव १ मेगावाटको सावाखोला ‘बी’मा ५ करोड, ४ दशमलव २ मेगावाटको सवाखोला ‘सी’मा ३ करोड, १४ दशमलव ५ मेगावाटको लोअर इखुवा खोलामा १० करोड, ४० दशमलव १ मेगावाटको इखुवाखोला क्स्याकेडमा ५ करोड रुपियाँको क्षति भएको दाबी गरिएको छ ।

प्रकाशित मिति:June 25, 2023