दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न दिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

  Sampatti News Online

June 25, 2023

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म प्रचार अभियानलाई निर्बाध नछोडिने बताएका छन्।

गृह मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले दबाब र प्रलोभनमा धर्म परिवर्तन गराउने कार्य भइरहेको भनी सरकारको ध्यानाकर्षण गराएका थिए। उक्त प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न नदिने बताएका हुन्।

नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन्। पाङ्गले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ।

दबाब वा प्रलोभनमा कुनै पनि मिसनमा आधारित भएर कुनै पनि प्रकारको धर्म प्रचारको अभियानलाई भने निर्बाध छोड्न सकिँदैन। यो कुरामा पनि सरकार गम्भीर छ र रहनेछ’ गृहमन्त्री श्रेष्ठले भने।

धर्म व्यक्तिको आस्थाको विषय भएकाले कसैलाई कुनै धर्म मान्न र नमान्न वा आफ्नो धर्म वा आस्था स्वेच्छिक रूपले परिवर्तन गर्न छुट रहने उनले बताए।

‘तर, व्यक्तिको आस्था रहेको धर्म जस्तो संवेदशनशील विषयमा प्रचारात्मक अभियान चलाएर बस्तीका बस्ती नै धार्मिक रूपान्तरणको प्रक्रियामा जाने स्थितिको भने राज्य र हामी सबै गम्भीर र संवेदनशील हुनुपर्ने अवस्था छ भन्ने माननीयहरूको ध्यानाकर्षण प्रति सरकार गम्भीर रहनेछ’ उनले भने ।

नेपाल धर्मनिरपेक्ष राज्य रहेको र धर्म निरपेक्ष राज्यले राज्यलाई धर्मबाट अलग राख्ने उल्लेख गर्दै उनले भने, ‘‘धार्मिक स्वतन्त्रता पनि हाम्रो संविधानले, हाम्रो प्रणालीले ग्यारेन्टी गरेको छ। धार्मिक स्वतन्त्रतालाई हामी सम्मान गर्छौँ। त्यसलाई सुनिश्चित गर्छौँ। त्यसमा कुनै पनि प्रकारको दबाब करकापबाट मुक्त रही आफ्नो धार्मिक आस्था र धार्मिक विश्वास अनुसार आफ्नो जीवन मूल्य जीवन आचरण अगाडि बढाउने वातावरण सरकारले सुनिश्चित गर्नेछ ।

प्रकाशित मिति:June 25, 2023