कृषि विकास कार्यालय हुम्लाका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal Cover
१० असार २०८०, आईतवार
image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्रभुषण झासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै अनियमितता भएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको जानकारी दिएका हुन्।

कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झासहित तत्कालीन सबइञ्जिनियर भीमबहादुर रोकाय, अदानचुली गाउँपालिका–२ का वडाध्यक्ष दलबहादुर बुढा र फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालक सुष्मा कार्कीविरुद्ध मुद्दा हालिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यवसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।

अख्तियारले भ्रष्टाचार भएको रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो जफत र कारवाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ ।