पशुपतिको सुनको जलहरी जोखियो, कति रहेछ तौल ? 

  Sampatti News Online

June 26, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो ।

पशुपतिनाथको स्वर्ण जलहरी जोखेर परीक्षणको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
जलहरीलाई पुनस् मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ । सोमबार नेपाली सेनाको सुरक्षामा शिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको छ। मंगलबार ज्योतिर्लिङ्गमा राखिनेछ । जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो । जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ ।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ । जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । 

गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।

जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा रोक लगाएर जलहरी परीक्षण गरिएको थियो ।

प्रकाशित मिति:June 26, 2023