न्यायाधीश श्रीकृष्ण भट्टराईद्वारा राजीनामा

  Sampatti News Online

June 26, 2023

काठमाडौँ । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक सङ्कट परेको भन्दै पदबाट राजीनामा दिएका हुन् । 

सर्वोच्च अदालत श्रोतका अनुसार न्यायाधीश भट्टराईले सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । भट्टराईले प्रधानन्यायाधीश पदका लागि हरिकृष्ण कार्की योग्य नभएको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए । तर सुनुवाइ समितिले उनको उजुरीलाई ‘उजुरीका लागि उजुरी’ भन्दै छलफल गर्नै उचित ठानेन । आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश बनेको कारण उनी मातहत बसेर काम गर्न नैतिक सङ्कट पर्ने भन्दै भट्टराईले राजीनामा बुझाएका हुन् ।

भट्टराईले राजनीतिक मानिसहरु पदमा आएर राजनीतिक आस्थाको लागि न्याय क्षेत्रमा काम गर्ने स्थिति देखिएको भन्दै आपत्ति जनाउनु भयो । प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हालेपनि संसदीय सुनुवाई समितिले विवेक प्रयोग गर्न नसकेको बताउनु भयो । उहाँले संसदीय सुनुवाई समिति नै अवैध रहेको भन्दै सुनुवाई समिति निष्पक्ष भएको खण्डमा कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको बताउनु भयो ।

उहाँले आगामी दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि आफू सक्रिय रहने बताउनु भयो ।

प्रकाशित मिति:June 26, 2023