नक्कली भुटानी शरणार्थी प्रकरण : आशिष पक्राउ

Nepal Cover
११ असार २०८०, सोमबार
image

काठमाडौँ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाे छ ।

यसअघि यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जना जेल चलान भइसकेका छन्। जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत छन् ।

प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो।

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त रहेकामध्ये अझै ११ जना फरार रहेका छन्। फरार सूचीमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापादेखि निरज राईसम्म छन्।

२०७९ चैत १२ मा ३ अभियुक्तलाई पक्राउ गरी ठगीमा अनुसन्धान गरिएकामा अनुसन्धानको दायरा बढाएर संगठित अपराधमा मुद्दा चलाइएको थियो । त्यसक्रममा किर्ते र राज्यविरुद्धको अपराधसमेत जोडेर ४ वटा कसुरमा दायर मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।