वाणिज्य बैंकका प्रबन्धक शाहीलाई ८ वर्ष जेल

Nepal Cover
११ असार २०८०, सोमबार
image

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्।किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्। उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ।

विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको विशेष अदालतले जनाएको छ। उनलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ।

विशेषका अध्यक्ष शालिग्राम पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासबाट यस्तो फैसला भएको हो। इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारणका लागि आइतबारको पेसी राखिएको थियो।

विशेषका अनुसार शाहीका साथै यस मुद्दामा रिजवान अहमद जसगढ पनि दोषी पाइएका छन्। उनलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ। यस मुद्दाका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा अनियमितता मुद्दा दायर गरेको थियो।