प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

  Sampatti News Online

June 26, 2023

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरिएको थियो ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई समेत समान बिगो माग गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

उनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजहरूलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ। 

प्रकाशित मिति:June 26, 2023