कांग्रेस बैठकमा सभापति देउवासहितका पदाधिकारीले बोल्ने,

  Sampatti News

July 24, 2023

काठमाडौं । नेपाली कांग्रेसको एक सता देखि जारी केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज धारणा राख्ने छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीले धारणा राख्ने क्रम सकिएकाले सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सदस्यहरूले राखेको जिज्ञासाको पदाधिकारीहरूले जवाफ दिन लागेका हुन ।

साउन २ गते देखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी संगठन सुधारसहितका विभिन्न दश एजेन्डाहरू प्रस्तुत भएका छन् । केन्द्रीय कार्यालयको तर्फबाट महामन्त्री थापाले २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्म एक वर्षे कार्यक्रम समेटेर वार्षिक क्यालेन्डरसहितका एजेन्डाहरू पेस गरेका छन् ।

यस्तै,पार्टी संगठन परिचालनका लागि विभिन्न कार्यक्रमहरू जारी केन्द्रीय समितिले तय गर्नुको साथै नीति महाधिवेशनको मिति पनि बैठकले घोषणा गर्ने छ । यद्यपी कांग्रेसको विधानले नीति महाधिवेशनको कुनै व्यवस्था गरेको छैन ।

बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान गठबन्धनका विषयमा पनि पार्टी धारणा बाहिर ल्याउने छ । दाहाल नेतृत्व सरकारका विषयमा कांग्रेसका केही नेताहरूले प्रश्न उठाउँदै आएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा,महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कार्यशैलीलाई लिएर कांग्रेस केन्द्रीय सदस्यहरू पक्ष र विपक्षमा विभाजित भएका छन् । सभापति देउवा विधि र विधान अनुसार नचलेको आरोप संस्थापन इतरका नेताहरूले लगाउँदै आएका छन् । तर, संस्थापन पक्षका नेताहरूले पार्टी महामन्त्रीहरू नै अनुशासनमा नबसेको र पार्टी बर्वाद भयो भन्दै हिंडेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टी सभापति देउवा माथि आक्रामक महामन्त्रीद्वय केन्द्रीय सदस्यहरूको निसानामा परेका छन् ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बचाउमा केन्द्रीय सदस्यहरू देखिएका छन् । महामन्त्री थापासहितका नेताहरू खाँणलाई निलम्बनको पक्षमा छन् ।तर, बहुमत सदस्यहरू त्यसको विपक्षमा छन् ।

बैठकमा प्रदेश सभापतिहरूले संघीयताको मर्म र भावना अनुसार केन्द्रीय नेताहरू चल्न नसकेको भन्दै गुनासो गरेका छन् । साथै, महामन्त्री थापाद्वारा प्रस्तुत कार्यक्रममा प्रदेश संरचनालाई नसमेटेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् । एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले मुलुक र पार्टीभित्र देखिएका समस्या र त्यसका समधानको उपाय भन्दा बढि आफ्नो असन्तुष्टि र गुनासाहरू बैठकमा पोखेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत बैठकको प्रत्यक्ष प्रशारण गरेर नयाँ सुरुवात गरेको कांग्रेसले विधान अनुसार गठन हुन नसकेका संरचनाहरू तत्काल गठन गर्ने र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिने, पार्टी संगठनलाई चलायमान बनाउन विभिन्न अभियान सञ्चालन गर्नेसहितका समसामयिक विषयमा आफ्नो धारणा बाहिर ल्याउने छ । सोमबारको बैठकमा पदाधिकारीहरूले बोलिसकेपछि आजको बैठकले त्यस विषयमा निर्णय लिने तयारी रहेको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति:July 24, 2023