कुनै बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा: गृहमन्त्री श्रेष्ठ

  Sampatti News Online

July 29, 2023

काठमाडौँ । गृहमन्त्री नारायण काजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन् । शनिवार काठमाडौँमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले, भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भइरहेको भन्दै राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृत्तिलाई अन्त्य गर्न सरकार डटेर लागेको बताए । यो वा त्यो बहानामा साथीभाइ, राजनीतिक दल, नाता सम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलब नगरी भ्रष्टाचारका दोषीलाई कारबाही गर्ने उनको दाबी छ । ‘अहिले सरकारले चालेको भ्रष्टाचार, गुठी विरोधी अभियानमा, जो सङ्गठित अपराधहरू देशमा जनता र राज्यलाई चुस्ने काम भइराखेको छ त्यो सन्दर्भमा चालिएको अभियानमा सबैको सहयोगको अपेक्षा गर्छु, भइरहेको पनि छ । युवाहरू देशमा केही हुन्छ भनेर आसावादी र उत्साहित बनेका छन्,यो धेरै राम्रो पक्ष हो ।’ उनले भने, ‘तर, कता कता यसले कसलाई तान्ने हो भनेर, विभिन्न त्यान्द्रोहरू जोडिएकाहरू कराउँछन् भने त्यसमा हामी सचेत हुनुपर्छ । त्यसले सरकारको यो दिशालाई विश्राम दिँदैन । कसैले नसोच हुन्छ,भ्रष्टाचार,बेथिति र ठगी विरोधी अभियानलाई हामी रोक्न सक्दैनौ,त्यो कृपा कसैले नगरे हुन्छ ।’
उनले सरकारले कुनै राजनीतिक दल,नेता, व्यापारिक घरना, साथीसंगी कसैलाई नचिन्ने र ती कसैको मतलब नगरी भ्रष्टाचारमा दोषी पाइएकालाई कुनै कृपा नगरी कानूनी कारबाही गर्ने दाबी गरे ।

‘हामी भ्रष्टाचार,बेथिति र ठगी विरोधी अभियानलाई रोकेर कसैमाथि कृपा गर्न सक्दैनौ । जुनसुकै राजनीतिक पार्टीको होस्,जुनसुकै परिवार र घरानाको होस्,जो सुकैको नाता सम्बन्ध होस्,जुनसुकैको साथी सङ्गी होस्,जुनसुकैले पैसा दिएर आफ्नो धानेको होस् ती कसैसँग सरकारलाई मतलब छैन । जो अनुसन्धानको आधारमा दोषी,अपराधी देखिन्छ,उनीहरूलाई कानूनको दायरामा ल्याइने छ । जो निर्दोष छ उसलाई यो देशमा शिर ठाडो पारेर स्वतन्त्र नागरिकको रुपमा बाँच्ने अवसर दिनेछौँ,’ गृहमन्त्री श्रेष्ठले भने ।

सरकारले आर्थिक सामाजिक विकास सँगै सुशासन र संमृद्धिको यात्रामा अब पनि दृढ भएर नलाग्ने हो भने देशमा गम्भीर गत्यवरोधको स्थिति आउने भन्दै त्यसले देशलाई अराजकता र असफलता तिर लैजाने उनको धारणा छ ।

सुशासन स्थापनाको लागि अवसर नभएको भन्दै उनले सुशासनको पक्षमा सुरु गरेको कामलाई प्रभावकारी ढंगले टुंगोमा पुर्‍याएर नेपाललाई समृद्ध बनाउने कार्यमा सबैको साथ आवश्यक रहेको बताए ।

प्रकाशित मिति:July 29, 2023