पोखरा महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा नियमितताको मागका साथः उपभोक्ता

  Sampatti News

July 30, 2023

पोखरा महानगरपालिका वडा नं १९ र १६ को सङ्गमस्थल ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले बजार पाएको छ । पोखरा महानगरपालिकाले एक महिनायता कृषि एम्बुलेन्स सञ्चालन गरी वडाको दुर्गम क्षेत्रमा उत्पादित तरकारी बजार क्षेत्रमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइदिएपछि किसानको अनुहारमा खुशी छाएको छ ।

पोखरा महानगरपालिका वडा नं १९ र १६ को सङ्गमस्थल ठूलीपोखरीमा सञ्चालनमा ल्याइएको किसान बजारस्थलमा शनिबार तरकारी किन्न स्थानीयको भीड नै लागेको थियो । स्थानीय उपभोक्ताले ताजा र सस्तो मूल्यमा तरकारी उपभोग गर्न पाएका छौँ । बिचौलिया हाबी नहुँदा किसानले समेत उचित मूल्य पाएका छन् ।’ स्थानीय उपपभोक्ताले बजारले नियमितता पाउनुपर्ने माग राखेका छन् । भारतबाट ल्याइएको बासी र विषादीयुक्त तरकारी उपभोग गर्नुपर्ने बाध्यता अब हामीलाई हटेको छ, स्थानीय दुर्गादेवी अधिकारीले भनिन् ।

वडास्तरीय उक्त किसान बजारस्थलको संयोजक जीतबहादुर बस्नेत रहेका छन् । उनले बजारलाई नियमितता दिने प्रयास आफ्नो रहने र फलफूलका साथै पछिल्ला दिनमा दूध र मासुको समेत व्यवस्था गरिने बताए । महानगरपालिकाको कृषि एम्बुलेन्सले ल्याएको तरकारी बजारस्थलमा १०–२० प्रतिशत नाफा लिएर उपभोक्तलाई बिक्री गरिएको जानकारी संयोजक बस्नेतले दिए । कृषि एम्बुलेन्सले ल्याउन नसकेका दिन पनि बजारकै तर्फबाट ढुवानी गरेर तरकारी बजारस्थलमा ल्याइने प्रतिबद्धता संयोजक बस्नेतको छ ।

ठूलीपोखरीमा शनिबारदेखि सञ्चालनमा आएको किसान बजारस्थलको उद्घाटन पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा नं १६ का अध्यक्ष अमृत तिमिल्सेना र पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखाका प्रमुख मनोहर कडरियाले संयुक्तरूपमा गरेका थिए ।

सो अवसरमा बोल्दै वडा नं १९ का वडाध्यक्ष पाण्डेले किसानले उत्पादन गरेको तरकारीको बजारीकरण गरी उनीहरूलाई कृषिप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए । युवाको विदेश मोहलाई घटाउनका लागि पनि सरकारी तहबाट कृषि क्षेत्रलाई अनुदान दिएर भए पनि कृषिप्रति युवाको आकर्षण बढाउन जरुरी रहेको भनाइ पाण्डेको छ ।

पोखरा–१६ का वडाध्यक्ष तिमिल्सेनाले किसान बजारलाई निरन्तरता दिने कार्यमा आफ्नो प्रयास रहने बताउँदै नजिकै बजार स्थापना भएपछि स्थानीय किसानले समेत आफ्नो उत्पादनलाई वृद्धि गर्ने विश्वास उनले दिलाए । किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धन गर्न वडास्तरबाट समेत बीउबिजन र सहजरूपमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन आफ्नो प्रयास रहने प्रतिबद्धता तिमिल्सेनाले गरे ।

पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखा प्रमुख कडरियाले पोखरा महानगरपालिकाले पोखराका विभिन्न १५ स्थानमा सङ्कलन केन्द्र र पाँच स्थानमा किसान बजारस्थल सञ्चालनमा ल्याएको जानकारी दिए । कृषि क्षेत्रको प्रवर्द्धन गर्न र पोखरेली उपभोक्तालाई ताजा र कम विषदीयुक्त तरकारी खुवाउन आफ्नो प्रयास रहेको बताए । कृषि एम्बुलेन्सले पोखराका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको तरकारी विभिन्न बजारस्थलसम्म ल्याउने गरेको जानकारी कडरियाले दिए ।

प्रकाशित मिति:July 30, 2023