रौतहट । गत जेठ ११ गते रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियाका ७० वर्षीय शेख तैयबको हत्या भयो। उनको हत्याको तीन महिना बित्न लागिसक्दा पनि प्रहरी हालसम्म मुख्य अभियुक्तलाई सार्वजनिक गर्न सकिरहेको छैन।
प्रहरीले तैयबको हत्या आरोपमा भारतबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो। तर हालसम्म उनीहरूलाई पनि सार्वजनिक गरेको छैन। घटनाका मुख्य अभियुक्त भने अझै फरार छन्।
शेख तैयबको टाउकोमा गोली हानी गत जेठ ११ गते हत्या गरिएको थियो। हत्याको करिब तीन महिना बित्न लाग्दा पनि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न नसक्नु र हत्यामा संलग्न दुई आरोपीलाई पक्राउ गरेर पनि सार्वजनिक गर्न नसक्नुले प्रहरीको अनुसन्धान माथि नै शंकाको घेरा उब्जिएको छ।
७० वर्षीय शेख तैयबको हत्या भएपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छानबिनका लागि भन्दै पूर्व सांसद शेख लालबाबुका छोरासहित ९ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले छानबिनका लागि नियन्त्रणमा लिएका सबै जना निर्दोष रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानले देखायो। डिएसपी बरुण बहादुर सिंहको नेतृत्वमा सिआइबिको टोलीले घटनाको अनुसन्धान गरेको थियो।
दुई हप्ताभन्दा लामो समयसम्म सिआइबिले गरेको अनुसन्धानले देवाही गोनाही नगरपालिका-१ का पूर्व वडाध्यक्ष शेख नुरुल्लाहको योजनामा शेख सेराज, शेख सद्दाम तथा भारत घोडासहनका कुख्यात अपराधी राकेश कुशवाहासहितले ७० वर्षीय शेख तैयबको हत्या गरेको देखायो। घोडासहनका कुशवाहाको नाममा भारतमै हत्याको दर्जनौँ मुद्दा चलिरहेको छ। कुशवाहाका काका लालबाबु कुशवाहा पनि हतियार ओसारपसारको क्रममा बारा प्रहरीद्वारा पक्राउ परी पर्साको जेलमा कैदी जीवन बिताइरहेका छन्।
सिआइबिको अनुसन्धानले कुशवाहाले शेख नुरुल्लाहको लागि ‘सुटर’ को काम गर्दै आएको देखाएको प्रहरी स्रोतबाट बुझिएको छ। शेख नुरुल्लाहकै योजनामा माधव नारायण नगरपालिका-२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्या २०७७ भदौ ३ मा भएको पनि रहस्योद्घाटन भएको छ।
हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा समेत संलग्न रहेको कुशवाहालाई नेपाल प्रहरीले भारतबाट गत असारको अन्तिम हप्ता नियन्त्रणमा लिएको थियो। कुशवाहाका साथै प्रहरीले भारतबाटै शेख सेराजलाई पनि पक्राउ गरिसकेको छ। शेख सेराजले पनि आफू पुजारी हत्यामा संलग्न रहेको प्रहरीसँगको बयानमा स्वीकार गरिसकेको स्रोतको दाबी छ।
‘सिरियल किलर’ का रुपमा रहेको कुशवाहा र सेराजलाई असारकै अन्तिम हप्तामा पक्राउ गरेको भए पनि यसबारे प्रहरीले सार्वजनिक प्रतिक्रिया भने दिएको छैन। यसै गरी पुजारी हत्याका साथै ७० वर्षीय शेख तैयबको हत्याका मुख्य योजनाकारको रुपमा रहेका शेख नुरुल्लाह भने अझै फरार छन्।
पुजारी हत्याको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका शेख नुरुल्लाहले आफू जोगिन र अरूलाई फसाउन एकपछि अर्को हत्या गराउने गरेको प्रहरी स्रोतको दाबी छ।
पुजारी हत्याको मुख्य योजनाकार शेख नुरुल्लाह नै रहेको सिआइबि अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ। शेख नुरुल्लाहको योजनामा राम नरेश पटेल, राजेन्द्र कुर्मी, रामप्रवेश कुर्मी, बालकुमार पटेल, बिकाउ भन्ने महम्मद कासिम, ममताज देवानको पनि संलग्नता रहेको स्रोतले बताएका छ।
शेख नुरुल्लाहले प्रत्येक आरोपीसित १५र१५ लाख रुपैयाँ उठाएको स्थानीयवासी बताउँछन्। उनीहरुका अनुसार कतिपय आरोपीले खेत जग्गा जमिन बेचेर पनि नुरुल्लाहलाई रकम उपलब्ध गराएका थिए।
७० वर्षीय शेख तैयब हत्याका मुख्य योजनाकार शेख नुरुल्लाह र घटनामा संलग्न शेख सद्दाम फरार छन्। घटनामा संलग्न कुशवाहा र सेराजलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याउँदासम्म मुख्य आरोपी शेख नुरुल्लाह आफ्नै घरमा थिए।
तैयबको हत्याको रात सबै योजना बनाएर शेख नुरुल्लाह एम्बुलेन्स चढेर काठमाडौँ गएका थिए। घटनापछि घर फर्केका नुरुल्लाहलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन। सिआइबिको टोलीले मुख्य योजनाकार नुरुल्लाह नै रहेको किटान गरेपछि प्रहरीकै सहयोगमा नुरुल्लाह फरार भएका थिए।
घटनामा संलग्न रहेका कुशवाहा र सेराजलाई पक्राउ गरेको करिब एक महिना बितिसकेको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। गत साउन ११ मा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो तर कुशवाहा र सेराजको बारेमा एक शब्द पनि बोलेन।
पुजारी र तैयब गरी दुई हत्या काण्डका अभियुक्त पक्राउ पर्दा पनि प्रहरीले सार्वजनिक प्रतिक्रिया नदिँदा सर्वत्र शंका उठेको छ। प्रहरीले घटनालाई मिडियामा आउन नदिन ठुलो चलखेल गरेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर सरुवाको कगारमा रहेको र घटनालाई सामसुम पार्न चलखेल भइरहेको पनि बुझिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले पत्रकारहरुले घटनाबारे नसोधेका कारण यस विषयमा नबोलेको बताए। पक्राउ परेको विषय अनुसन्धानकै शिलशिलामा रहेको कारण पनि घटनाबारे प्रहरीले प्रतिक्रिया नदिएको प्रवक्ता डिएसपी यादवको भनाइ छ।
जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख बद्री कार्कीले आफू बिदामा रहेकोले जुनियर अधिकृतलाई सोध्न भन्दै घटनाबारे केही बताउन मानेनन्।जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सग सम्पत्ति न्युजले सम्पर्क गर्दा उहाँ भन्नुहुन्छ मलाई यो बिषय जानकारी भएन यस बिषयलाई सार्वजनिक गराउन भोलि पहल गर्छु भन्नुभयो । मधेस प्रहरी प्रमुख सग सम्पर्क गर्दा पक्राउ परेका दुइजनालाइ भोलि नै सार्वजनिक गरिने बताउनुभयो।एक महिना अगाडी पक्राउ परेका अभियुक्तहरु सार्वजनिक नहुनुमा जिल्लाका प्रहरी उपरीक्षक मगर प्रहरी नायब उपरीक्षक र गरुडा प्रहरीको अपराधी प्रति बढदो मोह र सहानुभूतिका कारणले नागरिक समाजमा आक्रोश बढदै गएको छ।