बढुवा प्रक्रिया यथाशीघ्र अगाडि बढाउन कर्मचारी संघको माग

  Sampatti News Online

August 8, 2023

काठमाडौं । बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले माग गरेको छ । संघकी अध्यक्ष सरस्वती केसी नेतृत्वको कर्मचारीको टोलीले सोमबार युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसारको बढुवा प्रक्रियालाई तालुक मन्त्रालयबाट नै सकारात्मक सहयोग प्राप्त नभएका कारण परिणाममुखि निष्कर्षमा पुग्न नसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रियाका लागि परिषद्को निर्णय कार्यान्वयमा प्रक्रियागत समस्या सृजना गर्ने वातावरण भइरहेको महसुस गरेकोले माननीय युवा तथा खेलकुद मन्त्री डीगबहादुर लिम्बूज्यूबाट भएको पहिलो निर्णय अनुसारअगाडि बढेको बढुवाको प्रक्रियालाई यथाशीघ्र परिषद्को बोर्ड बैठकबाट सार्थक परिणाममा पुर्‍याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ जोडदार अपिल गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा ’लामो समयसम्म कार्यरत रही आफ्नो जीवनको अमुल्य समय खेलकुद, खेलाडी र देशका लागि समर्पण गरेका राष्ट्रसेवक कर्मचारीहरुको बढुवा प्रक्रियालाई यथाशीघ्र सार्थक परिणाममा नपुर्‍याए ३ दिनभित्र यस कर्मचारी संघले राष्ट्रव्यापी रुपमा चरणबद्व आफनो कार्यक्रम सार्वजनिक गरी दैनिक प्रशासनिक कार्यका साथै १९ औं एसियाली खेलका प्रशिक्षण लगायत सम्पूर्ण खेल गतिविधि ठप्प पारी आन्दोलन गर्न बाध्य हुने व्यहोरा ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित मिति:August 8, 2023