सचिवसहित १६ विरुद्ध भ्रष्टाद्धार मुद्दा

  Sampatti News Online

August 10, 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन सचिव तथा कृषि विकास बस्तु विकास आयोजना सुर्खेतका तत्कालीन प्रमुख राजेन्द्रप्रसाद भारीसमेत १६ जनाउपर भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जनाविरुद्ध अख्तियारले बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले राजेन्द्र प्रसाद भारी, गणेश भण्डारी, हरि प्रसाद पण्डित, हरि बहादुर थापा, भक्तिराम शर्मा, गुरु प्रसाद अधिकारी, उत्तम कुमार बस्नेत, खिमलाल वली, सुरेश कुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्ण राज भारती, कलाधर उपाध्याय, लक्ष्मण कडेल, प्रवल शाही र महेश शर्मासहित १६ जनालाई प्रतिवादी बनाएको छ ।

गुणस्तरहीन कार्यलाई गुणस्तरको कार्य भनी प्रमाणित गरी वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले कर्णाली कोल्डचेन लजिस्टिक प्रालिलाई ९२ लाख ४३ हजार २९८ रुपैयाँ भुक्तानी गरिएको थियो ।

अख्तियारले मन्त्रालयका तत्कालीन सब इन्जिनियर गणेश भण्डारीविरुद्ध १६ लाख २४ हजार ८८१ रुपैयाँ, तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापाविरुद्ध ३ लाख २५ हजार ५६७ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसैगरी कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त निर्देशक भातिराम शर्मा, योजना अधिकृत गुरुप्रसाद अधिकारी र लेखा अधिकारी उत्तमकुमार बस्नेतविरुद्ध ३ लाख २५ हजार ५६७ रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ । आयोजनाका लेखा अधिकृत खिमलाल वलीविरुद्ध ३ लाख ५३ हजार २०४ रुपैयाँ, कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडाविरुद्ध ७ लाख २६ हजार १८१ रुपैयाँ बिगो कायम गरिएको छ ।

आयोजनाका सब-इन्जिनियर सुवर्ण राज भारतीविरुद्ध ३५ लाख ३६ हजार ६८ रुपैयाँ, कोल्ड स्टोरका संचालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्यहरू लक्ष्मण कडेल र प्रबल शाहीविरुद्ध ९२ लाख ४३ हजार २९८ रुपैयाँ बिगो कायम गरिएको छ ।

प्रकाशित मिति:August 10, 2023