July 18, 2020
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा निर्माणाधिन सडकको नापी गर्न पुगेका ३ जना प्राविधिकहरुलाई स्थानीयले थुनिदिएका छन्। काममा ढिलाइ गरेको भन्दै प्राविधिकहरुलाई स्थानीयले थुनेका हुन् । बजेट अनुसारको कालोपत्रे गर्ने कामको रकम फ्रिज गर्न लागिपरेको स्थानीयको आरोप छ । स्थानीयले थुनेर काम सम्पन गराउने सहमति गराएका हुन्।
प्राविधिकहरु अनिल सिङ, दिनेश मण्डल, राजेश गीरीलाई स्थानीयले थुनेका हुन्। तर आफूमाथि दुव्र्यवहार भएको भन्दै प्राविधिकहरुले उजुरी दिएका छन्।
कार्यकारी अधिकृत मनोज कुमार साहको कमिसन मोहले निर्माणधिन सडकको कालोपत्रे गर्न आएको बजेट अनुसार काम सम्पन गर्न नदिने षड्यन्त्र गरेको स्थानीयले आरोप लगाएका छन्।
प्रदेश सरकारको सशर्त अनुदान र गाउँपालिकाको साझेदारमा दादवैरिया चौकदेखि पुटानी चौकसम्मको २५ सय मिटर कालोपत्रे सडकको नापी गर्न पुगेका प्राविधिकहरुले कार्यकारीको निर्देशनमा पैसा फ्रिज गर्न लागेको आरोप स्थानीयको छ।
लकडाउनको बेला काम नभएकाले दुई सिफ्टमा काम सञ्चालन गरेर सडक निर्माणको काम ठेकेदारले गरिरहेका बेला कार्यकारी अधिकृत साहले बेलुका ७ बजे ३ जना प्राविधिकलाई पठाएर कालोपत्रे भएको सडकको मात्र नापी गर्र्न लागाएपछि स्थानीय आक्रोशित बनेका थिए।
कालोपत्रे गर्नु भन्दा पहिले प्राइमकोट पूरैमा सम्पन भएता पनि प्राविधिकले प्राइमकोटको नापी नगर्ने निर्देशन रहेको स्थानीयहरुलाई सुनाएका थिए । प्राविधिक अनिल सिङले अचानक भइरहेको कामको नापी गर्न निर्देशन नरहेको भन्दै काम बन्द गराएपछि स्थानीयहरु आक्रोसशत भएका थिए ।
जनप्रतिनिधिहरुका अनुसार मिटिङमा चलिरेका बेला प्राविधिकहरुले विना जानकारी निर्णय विपरीत नापी गर्न र चलिरहेको काम बन्द गर्न भनेपछि स्थानीयहरु आक्रोशित बनेका थिए।
उक्त सडक निर्माणको काम रामा विल्ड्स प्रालि राजविराज ४ ले गर्दैआएको हो। गाउँपालिकाको २० लाख सहित सो सडकको कालोपत्रे कामको लागि ५० लाख बराबरको बजेट छुट्याइएको थियो।
तर कार्यकारी अधिकृत स्वयंले कामको अनुगमन नगरेको पनि स्थानीयको गुनासो छ। साथै उनले समयमा भुक्तानी नदिँदा पनि काम ढिलो भएको उनीहरु बताउँछन् । कर्मचारीहरुप्रति स्थानीय आक्रोशित बनेपछि प्रहरीको रहोवरमा गाउँपालिकाका सबै पदाधिकारीहरु बजेट अनुसार काम गर्ने भन्दै सहमति गरेर राति ९ बजे स्थिति सामान्य बनेको बताइएको छ।
प्रकाशित मिति:July 18, 2020
November 24, 2024