पछिल्लो साता कोरोनाबाट विदेशमा १६ नेपालीले ज्यान गुमाए

  Sampatti News

July 19, 2020

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ। योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या २ सय पुगेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन्। संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत अर्थात ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन्। अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन्।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीको उद्धार भएको छ।

यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ।

प्रकाशित मिति:July 19, 2020