अहमदविरुद्ध साढे १ करोडको भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
२९ श्रावण २०८०, सोमबार
image

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारी साकिर अहमदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । १ करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले अघिल्लो साता विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार साकिर अहमदले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती नुरजहाँ र छोरा साजन शाह समेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरुमा लगानी तथा बैंक खातामा रकम मौजदात लगायतमा गरिएका खर्च मध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम नुरजहाँ र साजन शाहलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सरकारी सेवामा प्रवेश गरेको मिति २०४८ माघ १५ गते देखि २०७८ असोज ३० को अवधिमा अहमदको आय १ करोड १६ लाख ५३ हजार ९ सय ५७ रुपैया देखिएको छ । व्याय तथा लगानी २ करोड ७२ लाख ३३ हजार ६ सय ५२ रुपैयाँ देखिएको आय बाट निजको व्यय घटाउँदा आएको रकम वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ ।