४०औँ जन्मजयन्तीको उपलक्ष्यमा झमकलाई घर हस्तान्तरण

  Sampatti News

July 19, 2020

काठमाडौँ । साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ। शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उहाँको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को निर्माण गरेको जानकारी दिनुभयो। “घिमिरेलाई मात्र नभई हामीले समाजका दुःख पाएका हरेक व्यक्तिलाई हाम्रो सामथ्र्यले भ्यायसम्म सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो।

विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उहाँले बताउनुभयो। धनकुटा कचिडेकी घिमिरे जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित हुनुहुन्छ। जसका कारण उहाँ बोल्न र हिँडडुल गर्न सक्नुहुन्न। साथै उहाँ खुट्टाको सहायताले लेखेर संवाद गर्नुहुन्छ । खुट्टाको तीन वटा औँला मात्रै चल्ने उहाँका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उहाँले आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाउनुभएको थियो।

उहाँकै सम्मानमा सरकारले पाँच वर्षअघि घर निर्माण गर्ने घोषणा गरेको थियो। त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो। रु एक करोड ८० लाखको लागतमा निर्माणार्थ उक्त घर तीनतले छ। उक्त घर प्रधानमन्त्री पत्नी शाक्यको रेखदेखमा निर्माण सम्पन्न भएको हो। घर घिमिरेको ४०औँ जन्मजयन्तीका उपलक्ष्यमा हस्तान्तरण गरिएको हो।

प्रकाशित मिति:July 19, 2020