सेयर बजारमा एनआरएनको लगानी भित्र्याउने सरकारकाे तयारी

  Sampatti News Online

August 18, 2023

गैर आवासीय नेपाली (एनआरएन) लाई शेयर निष्कास गर्न दिनेगरि सरकारले बाटो खोल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले संशोधनको लागि पेस गरेको धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली स्वीकृत गर्दै सरकारले बाटो खोल्न लागेको हो।

उक्त नियमावली स्वीकृत भएसँगै अब एनआरएनले शेयर निष्कासन गर्न पाउने छन्। तर धितोपत्र बोर्डले त्यसको लागि छुट्टै निर्देशिका बनाउनु पर्ने छ। संशोधित नियमावलीमा एनआरएनको लागि शेयर निष्कासन गर्न बोर्डले छुट्टै निर्देशका बनाएर कार्यान्वयनमा लैजान सक्ने लेखिएको छ। जसले गर्दा बोर्डले निर्देशिका बनाएर कार्यान्वयनमा लैजाने बताइएको छ। “हामीले संशोधनको लागि पठाएको नियमावलीमा एनआरएनलाई शेयर बजार प्रवेश गराउने बुँदा पनि समेटिएको छ। त्यसका लागि बोर्डले निर्देशिका बनाउनु पर्ने उल्लेख छ। सरकारकफ स्विकृतिपछि हामी निर्देशिका बनाएर कार्यान्वयनमा लैजान्छौ” धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने।

‘एनआरएनलाई पुँजी बजारमा ल्याउन प्रारम्भिक कार्य सम्पन्न गरिसकेको छौं,’ उनले भने, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा)मा भएका केही नीतिगत कुरा सुधार गर्नुपर्ने देखिएको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, संशोधनपछि एनआरएनलाई पुँजी बजारमा भित्र्याउन सकिने श्रेष्ठले बताएका छन्। 

बोडले यसअघि वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई आईपीओको कोटा व्यवस्था गरिसकेको छ। म्युचुअल फन्डले कोटा पाएझैँ वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा कोटा व्यवस्था गरिएको हो। विदेशमा झण्डै ५० लाख नेपाली काम गर्छन्। उनीहरुलाई आईपीओमा कोटा दिनासाथ नेपाल भित्रिने रेमिट्यान्स पनि बढ्ने आँकलन गरिएको छ। 

पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा आवेदन दिँदै आइरहेका छन्।अर्थ बजारका जानकार अनलराज भट्टराईले एनआरएनलाई पुँजी बजारमा ल्याउने कुरा चुनौतीपूण रहेको  बताए। उनका अनुसार एनआरएनलाई पुँजी बजारमा ल्याउन केही कानुनी सुधार गर्नुपर्ने छ। 

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गरी गैरआवसीय नेपालीलाई नेपालमा सहजै लगानी गर्न पाउने र लगानी फिर्ता लान पाउने व्यवस्था गरिनुपर्छ,’ उनले भने। भारतसहितका देशमा पनि विदेशका हुनेले सेयर बजारमा लगानी गर्न पाइरहेको उनले बताए।

‘छिमेकी भारत लगायत देशहरुले विदेशबाट नागरिकले लगानी गर्न पाउने र फिर्ता लिन सक्ने कानुनी व्यवस्था गरेका छन्,’ उनले भने, ‘नेपालीहरुलाई विदेशबाट लगानी गर्न पाउने व्यवस्था छैन। वैदेशिक लगानी फिर्ता लैजान पनि समस्या छ।’

गैरआवसीय नेपालीले नेपालमा गरेको लगानी सहजै लैजान पाउने व्यवस्था गरिए दोस्रो बजारमा ल्याउन सकिने भट्टराईको तर्क छ। सरकारले आगामी वर्षको बजेटको बुँदा नम्बर ६५ मा एनआरएनको लगानी ल्याउन कानुनी सुधार गरिने भनेको छ। तर, बुँदा नम्बर ६६ मा विदेशी लगानीतकर्ताले न्यूनतम २ करोड रुपैयाँ लगानी गर्नुपर्ने पनि भनेको भट्टराइले बताए। 

उद्योग मन्त्रालयलका सहसचिव एवम् प्रवक्ता राधिका अर्यालले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली संशोधनका लागि छलफल भइरहेको बताएकी छन्। 

‘सरकारले गैरआवासीय नेपालीलाई सहजै लगानी गर्न दिइने र गरेको लगानी फिर्ता लैजान पाउने गरी छलफल भइरहेको छ,’ अर्यालले भनिन्। गैरआवासीय नेपाली नेपालीलाई नेपालमा लगानी गर्न पाउने व्यवस्था भए पनि सेयर बजारमा लगानी गर्न पाउने पहुँच भने थिएन। 

अब गैरआवसीय नेपालीलाई डलर खाता खोल्न दिएर त्यसैबाट सेकेन्डरी बजारमा लगानीका गर्न दिनेबित्तिकै ठूलो रकम विदेशबाट भित्रिने विश्वास सरकारको छ। एनआरएनहरुलाई सेकेन्डरी बजारमा प्रवेश दिनासाथ बजार उचाइतर्फ जाने आँकलन गरिएको छ। एनआरएनहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न दिएर त्यसैबाट सेकेन्डरी मार्केटमा कारोबार अनुमति दिने बोर्डको तयारी छ।

प्रकाशित मिति:August 18, 2023