पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, ४ घर बगायो

  Sampatti News

July 22, 2020

तनहुँ । मंगलबार बिहानैदेखि तनहुँअन्तर्गत पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण आएको पहिरोले मंगलबार बिहानैदेखि तनहुँअन्तर्गत पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारा, मार्कीचोक र बन्दीपुर गाउँपालिका–१ विमलनगर, डुम्रे, नाहालामा राजमार्ग भाँसिएको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले अन्य स्थानका सडक मर्मत गरिएको भए पनि ऐनापहराको ढुङ्गा फाल्न भने गाह्रो भएको बताए। तिमिल्सिनाका अनुसार मंगलबार साँझसम्ममा ऐनापहराको सडकमा खसेको ढिस्को फालिएपछि भने राजमार्ग सुचारु हुनेछ।

त्यस्तै बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित रिमाल्नी, नाहाला, याम्पामा राजमार्ग भाँसिएको थियो। त्यस क्षेत्रमा राजमार्गमा भने मर्मत गरिसकिएको उनले बताए। व्यास नगरपालिकाको मादीपुल नजिक, म्याग्दे गाउँपालिका–१ गुणादीअन्तर्गतको सडक भने मंगलबार सफा गरिएपछि सवारी चलेका छन्। व्यास नगरपालिका–१ खकौलीस्थित दमौली–छाब्दीमार्गमा सडक भासिएको छ। त्यस क्षेत्रबाट आवात–जावातका लागि वैकल्पिक बाटोको व्यवस्थापनमा लागिरहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

‘दमौलीसँग छाब्दीका सर्वसाधारण आवागमनमा समस्या भएकाले वडा कार्यालयलाई वैकल्पिक बाटो व्यवस्थापन गर्न निर्देशन दिएको छु, छिट्टै सडकको व्यवस्थापन हुन्छ ।’ –उनले भने।

बन्दीपुर गाउँपालिका–६ खहरे थुमथुमेस्थित नाल्दीपुल नजिकै आएको पहिरोले ४ घरमा क्षति पुर्याएको छ। त्यस क्षेत्रमा सञ्चालित केही पसलमा क्षति पुगेको स्थानीय नवराज गुरुङले बताए। गुरुङका अनुसार त्यहाँको आठ घरमध्ये ३ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने भौतिक सामग्रीहरू नदीले बगाएको छ । पहिरो खस्न रोकिएको र वडा कार्यालयले उद्धार गरेको सामाजिक अभियन्ता सिद्धान्त गर्जा मगरले जानकारी दिए।

त्यस्तै बन्दीपुर गाउँपालिका–१ नाहालाका सुरेश र अर्जुन अधिकारीको घरमा पहिरोले पूर्णरूपमा क्षति पुगेको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए। पशुचौपायको भने स्थानीय तथा जनप्रतिनिधिले उद्धार गरिएका छन्। उहाँका अनुसार डुम्रेलगायत ३५ जना विस्थापित भएका छन्।

पहिरोका कारण बन्दीपुरका १४ घर–परिवार विस्थापित भएका छन। बन्दीपुर–१ र २ नम्बर वडाका चार÷चार र ५ नम्बर वडाका दुई घर परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी गराए।

प्रकाशित मिति:July 22, 2020