भदौ १ देखि विद्यार्थी भनासहित परिक्षा खुल्ने

  Sampatti News

July 22, 2020

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन्। विद्यालय कलेज, ट्युशन सेन्टर तालिम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सबै प्रकारका प्रदर्शनी, भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जल स्थलहरु भने अर्को सूचना नआए सम्मका लागि सञ्चालनमा रोक लगाइएको छ।

यद्यपि कोरोनाको प्रभाव र त्यसको संक्रमणको अवस्थाका आधारमा भदौ १ अघि नै सरकारले उक्त विषयमा निर्णय लिन सक्नेसमेत मन्त्री खतिवडाले जानकारी गराए। उनका अनुसार सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय चिडियाखाना पनि अर्को सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न पाइने छैन।

सेवा सञ्चालन भएका क्षेत्रमा भने कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ। मास्क प्रयोग गर्नुपर्ने, पटकपटक साबुन पानीले हात धुनुपर्ने, सानिटाइजरको प्रयोग गर्नुपर्नेछ । सरकारले संकटका कालोबजारी र जम्माखोरी गर्ने व्यक्तिहरुलाई भने कानूनअनुसार कारवाही गर्ने जनाएको छ।

कोरोना भाइरसको संक्रमण रोक्न गत चैत ११ देखि लागू गरेको बन्दाबन्दी झण्डै चार महिनापछि विधिवत् रुपमा अन्त्य भएको छ। यससँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिए पनि सोमबारको मन्त्रिपरिषदको निर्णयसँगै थप सेवा सञ्चालन हुने भएको छ। जोखिम कायम रहेका केही सीमित गतिविधिमा रोक लगाउने यसअघिको निर्णय भने कायम राखेको छ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति:July 22, 2020