तीन बैंकको संस्थापक शेयर विक्रीका लागि सूचना जारी

  Sampatti News Online

August 25, 2023

काठमाडौं । भदौ ८ गते तीन विकास बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २० हजार कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकले ३ लाख ३४ हजार ८७४ कित्ता र एक्सेल डेभलपमेन्ट बैंकले १६ हजार २७५ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका हुन् ।

तीन कम्पनीमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शेयरको प्रतिकित्ता मूल्य १४५ तोेकेको छ । अन्य दुई कम्पनीहरूले भने शेयरको मूल्य खुलाएका छैनन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विक्रीमा ल्याएको शेयर खरीद गरेका शेयरधनीहरूले भदौ ८ गतेपछि कम्पनीद्वारा घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्ने जानकारी समेत दिएको छ । भदौ ८ गतेदेखि विक्रीमा आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि भदौ १७ गतेसम्म आवेदन दिनुपर्नेछ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटदल लिमिटेड रहेको छ । 

अन्य दुई कम्पनीको शेयर खरीदका लागि आगामी १५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ । सांग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले भने यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्री खुला गर्दा वितरण हुन नसकेको शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

प्रकाशित मिति:August 25, 2023