काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिक्षक छनोट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मंगलवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।
थापा र धिताललाई अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । घुसबापत लिएको रकमलाई बिगो कायम गरी बिगो असुलउपर तथा सोही बराबर जरिवानाको मागदाबी गरी मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ,’ प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।