को को कर्मचारि मुछिए सुन काण्डमा, माहार्निदेशक सहित सबै अख्तियारको फन्दामा

  Sampatti News Online

August 27, 2023

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत छानबिन र अनुसन्धान थालेको छ ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् गरिएको ९ किलो सुनतस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको हो ।

गत शुक्रबार बसेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पूर्ण बैठकले सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीलाई अनुसन्धान घेरामा ल्याउने र उनीहरू सबैको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियार स्रोतले अध्यागमन विभागका महानिर्देशक अधिकारीसहित सुन काण्डमा मुछिएका सबैलाई छानबिनको घेरामा ल्याउने निर्णय गरेको हो ।

अख्तियारको सो निर्णयअनुसार ६० किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन र अनुसन्धान शुरूभएको छ । यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कामाथि समेत अख्तियारले छानबिन थालेको छ ।

अख्तियारले अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहित सुन तस्करीमा मुछिएका सार्वजनिक ओहोदामा रहेका सबैमाथि विस्तृत छानबिन गर्न अनुसन्धान अधिकृतहरू नै तोकेर अनुसन्धान थालेको जनाइएको छ । अख्तियारले महानिर्देशक अधिकारीसहित अन्य कर्मचारीको सुन तस्करसँग भएका आर्थिक कारोबारका बारेमा विभिन्न सम्पर्क स्रोतमार्फत् जानकारी लिने काम गरिरहेको बताइएको छ । सुन तस्करसँग सम्बद्ध रहेकाहरूको १३ पन्ने विवरण भराउनुका साथै उनीहरूले यसअघि जागिर खाँदाका सबै गतिविधिको एक एक अध्ययन र अनुसन्धान गर्ने अख्तियार स्रोतले जनाएको छ ।

६० किलो सुनतस्करी प्रकरणका मुख्य योजनाकार मानिएका दावा छिरिङसँग गहिरो कनेक्सन देखिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी विभागबाट हटाइएका छन् । उनलाई हाल गृह मन्त्रालयले अतिरिक्त समूहमा राखेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अधिकारी र दावाबीच लामो समयदेखि विच्याटमा विभिन्न धन्दाका बारेमा कुराकानी हुने गरेको, अधिकारीले दावालाई सहयोग गरेको र सोबापत दावाले ठूलै आर्थिक सहयोग गरेको विषय फेला पारिसकेको छ । अतः अधिकारी सीआईबीको गम्भीर छानबिनमा समेत परिसकेका छन् ।

गृहमन्त्रालयका एक अधिकारीले अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीमाथि सीआईबी र अख्तियारले समेत छानबिन थालेकाले गृह मन्त्रालयले छानबिन गर्न जरुरी नरहेको बताए । ‘अधिकारीलाई गृह मन्त्रालयमा तानेर अतिरिक्त समूहमा राख्ने निर्णय भएको छ, उहाँमाथि सीआईबीले छानबिन गरिरहेको र अख्तियारले समेत छानबिन गर्ने भएकाले गृहबाट छानबिन गर्न जरुरी देखिँदैन’। तर, गृहमन्त्रालयले अधिकारीलाई निलम्बन गर्नुपर्ने माग सर्वत्र उठिरहेको छ । सुन तस्करसँग कनेक्सन भएको विषय सार्वजनिक भइसक्दा समेत अधिकारीलाई निलम्बन गर्न नसक्दा गृहमन्त्रालयको नेतृत्वमाथि प्रश्न समेत उठिरहेको छ । अधिकारीलाई निलम्बन गर्ने विषयमा गृहमन्त्रालयले अहिले सम्म कुनै पनि निर्णय गर्न सकेको छैन ।

गृहमन्त्रालयले बिहीबार अधिकारीलाई अध्यागमन विभागबाट मन्त्रालय तान्ने निर्णय गरेको थियो । अधिकारी भने हाल बिदामा छन् ।

अख्तियार स्रोतका अनुसार सुनकाण्डमा मुछिएका तथा तस्करहरूसँग कनेक्सन भएका कर्मचारीहरूले अकुत सम्पत्ति आर्जन गरेका प्रारम्भिक सूचनाहरू प्राप्त भइसकेका छन् । अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीले दावासँग मिलेर विभिन्न धन्दाहरू सञ्चालन गर्ने गरेको र सोबाट आएको ठूलो परिमाणको रकमले नेपाल र भारतका विभिन्न होटलहरूमा लगानी गरेको दाबी स्रोतको छ । पोखरा निवासी अधिकारीको पोखराका चर्चित र ठूला होटलहरूमा बढी लगानी रहेको बताइएको छ ।

स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत अधिकारीले भूमिका खेल्ने गरेको स्रोतले जानकारी दिएको छ । सुन तस्कर दावासँग अधिकारीको कनेक्सन अधिकारी ठूला करदाता कार्यालयमा बस्दा भएको थियो । त्यसपछि उनीहरूबीच घनिष्ट सम्बन्ध रहँदै आएको स्रोतको दाबी छ ।

प्रकाशित मिति:August 27, 2023