प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

  Sampatti News Online

August 28, 2023

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए। नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन्। साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गरेकामा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन्। सभापति घोषणासँगै आजै सपथ ग्रहणको तयारी भइरहेको संसद सचिवालय गरेको छ।

त्यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् । त्यस्तै, सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन् ।

यसअघि सत्तारूढ र प्रमुख प्रतिपक्षबीच सहमति हुँदा संसद्को चौथो दल रास्वपा र पाँचौं दल राप्रपालाई समिति सभापति नदिने तय भएको थियो । तर मनोनयन दर्ताको केही समयअघि मात्रै माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई छोडिएको थियो ।संसद् सुरु भएको साढे ७ महिनापछि संसदीय समितिले नेतृत्व पाएको हो । २०७९ पुस अन्तिम साता संसद्को पहिलो बैठक बसेको थियो भने वैशाख १५ मा संसदीय समिति गठन भएका थिए । तर दलहरूबीचको द्वन्द्व, भागबन्डा र गुटबन्दीका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । संसदीय समितिहरूले गठनको ४ महिनामा बल्ल नेतृत्व पाएका हुन् ।

प्रकाशित मिति:August 28, 2023