August 29, 2023
नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास प्रकरणलाई लिएर आफ्नो पार्टीका अध्यक्ष माधव कुमार नेपालको राजनीति समाप्त पार्ने खेलमा केही व्यक्तिहरु लागेको दबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपालले भ्रष्टाचार गर्यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गरे।
‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ। माधव नेपालले भ्रष्टाचार गर्यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ। सायद समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको सबैकुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन,’ उनले भने, ‘माधव नेपाल पनि हर हिसावले पूर्ण होइन होला। कर्मी, सीमाहरू होलान्। तर भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन।’
समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेको समेत उनको दाबी थियो।
मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए। अदालतले दोषी सावित गरेपनि वा ओभरसाइट एजेन्सीहरुले भनेपनि त्यसलाई जनताले नपत्याउने उनले बताए।
‘हामी जुनसुकैले निर्णय गरेपनि त्यसको च्यालेन्ज गर्न तयार छौँ। अदालतले बोलोस्, अरु कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरुले बोलुन्, त्यसलाई जनताले पत्याउँदैनन्,’ उनले भने।
मन्त्री ज्वालाले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको पनि बताए।
प्रकाशित मिति:August 29, 2023