सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं : प्रधानन्यायाधीश श्रेष्ठ

  Sampatti News Online

August 29, 2023

काठमाडाैं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । सोमवार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् । उनले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए ।

उहाँले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने बताउनु भयो । स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरुलाई निश्चिन्तता हुने पनि उहाँले बताउनु भयो । उहाँले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडी बढेको भन्दै अझ सुधार हुँदै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडी बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार गर्‍यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरुले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभुति मलाई भएको छ । अदालतका हरेक काम, कारबाहीहरु विशेषगरेर मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिखदेखि लिएर हरेक कुराहरु फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ । त्यो सबै कुराहरु प्रविधिमा आवद्ध छन् । प्रविधिमा आवद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रुपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’

प्रकाशित मिति:August 29, 2023