मन्त्री साउदले भने-नयाँ नक्साबारे सम्बन्धित देशलाई जानकारी गराएको थाहा छैन

  Sampatti News

September 3, 2023

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताएका छन् । यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै उनले छिमेकीसँगको सीमा विवाद कूटनैतिक च्यानलबाट समाधान गर्ने पनि बताए ।

 चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरूको नक्सा जारी गर्दा नेपालको भू–भाग भारतको नक्सामा देखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो ।

चीनले भू–राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भाग भारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्वसुरक्षाकर्मी परिषद्को ठहर छ ।

चीनद्वारा प्रकाशित त्रुटीपूर्ण नक्साले सम्पूर्ण नेपालीहरूको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्‍याएको परिषद्को बुझाइ छ । चीनसँग नेपालको सदियौँदेखि छुट्टै र विशेष घनिष्ट सम्बन्ध रहँदै आएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्त नक्सा सच्याउन आह्वान समेत गरेको छ ।

आज ओखलढुंगाका पत्रकारहरुले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणाबारे राखेको जिज्ञासामा मन्त्री साउदले उक्त कुरा बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा जारी गरेका थिए । मन्त्री साउदले भने विगतमा काम गर्दै जाँदा ढंग नपुगेको बताए । ‘कहिलेकाहिँ काम गर्दै जाँदाखेरि ढंग नपुगेको जस्तो पनि पटक-पटक देखिने गर्या छ,’ उनले भने, ‘विशेष गरी नक्सा पास गरिसकेपछि त्यो नक्सा प्रपर च्यानलबाट सम्बन्धित देशहरुमा गयो कि गएन भन्ने बारेमा अहिले पनि मैले मन्त्रालयमा बुझ्दाखेरि गइसकेको भन्ने ठोस जानकारी मैले पाएको छैन ।’

उनले थपे, ‘बाहिर चाहिँ त्यो बेलाको जिम्मेवारीमा रहेका महत्वपूर्ण साथीहरुले हामीले नक्सा पठायौं भन्ने किसिमको जानकारी गराएको भए पनि सम्बन्धित देशलाई त्यो नोट गइसकेको या नगइसकेको भन्नेबारेमा मैले सम्बन्धित आफ्नो मन्त्रालयको सम्बन्धित महाशाखामा बुझ्दाखेरि त्यस्तो नोट गएको जस्तो जानकारी प्राप्त भएको छैन ।’

यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको बताए । ‘नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरेर जारी गरिसकेको छ । जारी गरिसकेपछि हामी आफ्नो नक्साका बारेमा कमिटेड छौं र सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको हाम्रो निर्णयको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ,’ उनले भने ।

उनले सीमाको बारेमा कहिँ विवाद भए कूटनीतिक वार्ता र सम्वादबाट निप्टारा गर्नुपर्ने नेपाल सरकारको नीति रहेको उनले जानकारी गराए । ‘हामी यसलाई धेरै ठूलो विवाद बनाएर अगाडि बढ्ने भन्दा पनि सबै देशहरुसँग कूटनैतिक सम्वाद, छलफल गरेर यो विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने ।

प्रकाशित मिति:September 3, 2023