भगवती हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँट हुने

Nepal Cover
१७ भाद्र २०८०, आईतवार
image

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोली अर्थात भदौ १८ गते, सोमबार बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भोली बिहान ९ बजे बाँडफाँट हुनेछ।

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो। अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १३ लाखभन्दा बढी आवेदन परेको थियो। धितोपत्र बाँडफाँट निर्देशिका अनुसार मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत हुनेछ। यस अनुसार ७१ हजार २२२ जनाले कम्पनीको शेयर प्राप्त गर्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ।