२९ अंकले घट्यो शेयरबजार

  Sampatti News Online

September 3, 2023

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २९.८१ अंकले घटेको छ । बैंकहरूले धितोपत्र दलाल कम्पनी (ब्रोकर) लाई चालू पूँजीमा कडाइ गरेपछि शेयर बजारमा थप पहिरो चलेको हो ।

यस दिन नेप्से परिसूचक घटेपनि कारोबार रकम सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७६ स्टकको ३७ हजार ४१ पटकको कारोबारमा १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से घटेपनि थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य २३ रुपैयाँ १० पैसा बढेर २५४ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।

यस दिन दुई स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लिबर्टी इनर्जी र सिटि होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन्‌ । लिबर्टी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशत गुमाएका छन्‌ ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन ३ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन आइएमई लाइफ इन्स्योरेन्स र सिटि होटलको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:September 3, 2023