निजामती सेवा विधेयक भोलिको क्याबिनेटबाट स्वीकृत गछौँ : प्रधानमन्त्री  

  Sampatti News

September 4, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती विधेयक मङ्गलवारको क्याबिनेटले स्वीकृति प्रदान गर्ने बताएका छन्। संसदमा दर्ता गर्नका लागि क्याबिनेटले स्वीकृति प्रदान गर्ने उनले बताए ।

सोमबार राष्ट्रिय सभामा सङ्घीयता कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानुनका विषयमा विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले मङ्गलवार सरकारले स्वीकृति प्रदान गरेर संसदमा दर्ता गर्ने जानकारी दिएका हुन्।

उनले भने, ‘संघीय निजामती विधेयक भोलिको मन्त्रिपरिषदबाट पारित गरेर सदनमा पेश गर्ने तयारी गरिरहेका छौँ। ढिलो भयो, अब थप ढिलो गर्नु हुँदैन।’करिब डेढ वर्ष पटक-पटक भएका छलफलमा पनि विधेयकमा समावेश कतिपय प्रमुख प्रावधानहरूमा सहमति जुट्न नसकेपछि उक्त विधेयक समितिबाट पारित हुन सकेको थिएन।

उसले तल्लो तहका कर्मचारीहरूको वृत्तिविकास हुन नदिने गरी विधेयक आएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग राखेको छ।

त्यस्तै उक्त विधेयकमा समेटिएको कर्मचारीहरूको एउटा मात्र आधिकारिक ट्रेड युनियन हुने प्रावधानको पनि विरोध भएको छ।

आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले त्यसका लागि ‘आन्दोलन परिचालन समिति’ बनाइएको बीबीसीलाई बताए। उनले भने, “यो विरोधमा सबै राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको संलग्नता रहनेछ।”

“आजदेखि नै हाम्रो आन्दोलन सुरु हुन्छ। मङ्गलवार साँझ ५:१५ बजे माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन हुन्छ। “त्यसपछि विभिन्न चरणबद्ध विरोध गरिने पोखरेलले जानकारी दिए।

विरोधमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन सङ्घ, राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्चलगायतको समर्थन र सहभागिता रहने उनले बताए।

प्रकाशित मिति:September 4, 2023